कुलिङ पिरियड छानबिन अन्तिम चरणमा, प्रतिवेदन लेखनको तयारी

२०८२ श्रावण ८, बिहीबार ११:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ‘कुलिङ पिरियड’ सम्बन्धी गडबडीबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले आफ्नो सोधपुछ कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ। समितिले यस प्रकरणमा जोडिएका उच्च पदस्थ सरकारी अधिकारीदेखि प्रमुख राजनीतिक दलका सचेतकहरूसम्म बयान लिइसकेको छ। समितिका अनुसार, सोधपुछको क्रममा मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सहसचिव, तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सहसचिवसँग जानकारी लिइएको छ।

यसैगरी, समितिले प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग समितिले सोधपुछ गरेको हो। छानबिनको दायरामा संसदीय समितिलाई पनि राखिएको थियो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरासँग समेत समितिले बयान लिएको छ। समितिका एक सदस्यका अनुसार, सोधपुछको काम लगभग सकिएको छ र अब समिति प्रतिवेदन लेखनमा केन्द्रित हुनेछ। “हामीले सरोकारवाला अधिकांश पक्षसँग सोधपुछ गरिसकेका छौं, अब प्राप्त तथ्य र बयानका आधारमा प्रतिवेदन तयार पार्ने काम सुरु हुन्छ,” ती सदस्यले भने। यो प्रतिवेदनले ‘कुलिङ पिरियड’ सम्बन्धी विवादको यथार्थ बाहिर ल्याउने र भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक सुझाव दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार