काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामको तयारी थालेको छ । वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना हुने भन्दै मन्त्रालययले पूर्व तयारी थालेको हो । समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पहल गरेका छन् । उनको अध्यक्षतामा बसेको बैठकले प्रतिकार्य तथा रोकथामका लागि विभिन्न ४ निर्णय गरेको छ ।
स्वास्थ्य अधिकारीहरू सहभागी बैठकमा मन्त्री पौडेलले समक्ष विपद् आइसकेपछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीकमा लाग्नु पर्ने बताए । अब महामारी रोकथाम तथा नियन्त्रणका लागि सम्भावित स्थानको पहिचान गरी सरसफाइ र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गरिनेछ ।
शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषण राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाउनेछ ।
महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकता अनुसार खटाउने व्यवस्था गर्नेछ । यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रियरप्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी आवश्यक तयारी तथा प्रतिक्रियाका कामहरु समेत अघि बढाइने भएको छ ।
मन्त्री पौडेलको प्रतिबद्धता अनुसार संक्रामक रोग ऐन २०२० लाई बदलिँदो परिस्थिति तथा आवश्यकता अनुसार संसोधन गर्नका लागि समेत स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेश गर्ने समेत बैठकले निर्णय गरेको छ ।




