चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा

२०८० जेष्ठ २०, शनिबार ०८:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविरकथाकार उपेन्द्र सुब्बा निर्देशन गरेका हुन् ।

चलचित्रले आज काठमाडौँ उपत्यकासँगै मोफसलको सहर बुटवल, नेपालगञ्ज, नारायणघाट र विर्तामोडमा प्रदर्शनको एकाउन्न दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए । “वर्षकै पहिलो एकाउन्न दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाउनुभयो”, उनले भने ।

चलचित्रले शुक्रबारसम्म १४ करोड २१ लाख २३ हजार छ सय ७८ रुपैयाँको विशुद्ध (कर कट्टा गरिएको नेट कलेक्सन) व्यापार गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन बताए ।

“महिला आँटिला र साहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानविना बस्दैनन्”, निर्देशक सुब्बाले भने । महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रहसमेत गरे ।“लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ”, निर्देशक सुब्बाले भने ।

यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार