काठमाडौं महानगरले विनियोजित बजेटअनुसार बढाउन सकेन खर्च

२०८० माघ ३, बुधबार १७:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले विनियोजित बजेटअनुसार खर्च बढाउन सकेको छैन । बुधबार सम्पन्न १४ औं नगरसभामा पेस भएको विवरण अनुसार महानगरपालिकाले लक्ष्यको १७.७८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

चालु आर्थिक वर्षमा महानगरपालिकाको बजेट २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको आधा समय पुस २६ गतेसम्ममा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैया खर्च भएको छ । महानगरले अब भने लक्षित योजनामा खर्च बढाउन जोड दिने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा नगरसभा राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भएको हो । सभाले प्रवक्ता नवीन मानन्धरले पेस गरेको सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजस्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेस गरेको जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

नगर सभाको १३ औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा रहेको जानकारी सभामा दिइयो । त्यस्तै, सभामा बजेट तथा कार्यक्रमको संशोधनका लागि महानगरकी उप प्रमुख सुनिता डंगोलले राखेको प्रस्ताव समेत पारित भएको छ । संशोधित प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च, आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटेको छ भने पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप गरिएको छ ।

सभाको अध्यक्षता गरेका महानगर प्रमुख बालेन शाहले सभामा प्रस्तुत भएका प्रस्तावहरु सभाबाट पारित भएको जानकारी दिएका थिए । उनले भने, ‘सभामा प्रस्तुत भएका प्रस्तावहरु सभाबाट पारित भइसकेको हुँदा नगरसभा कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम काठमाडौं महानगरपालिकाको १४ औं अधिवेशन अन्त्य भएको जानकारी गराउँदछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार