काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–३ भानपुरमा ४ अर्ब रुपैयाँको लगानीमा निर्मित ३०० शय्याको ‘सन्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल’ माघ मसान्तदेखि सञ्चालनमा आउने भएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक रोकाका अनुसार सम्पूर्ण प्राविधिक र प्रशासनिक तयारी पूरा भइसकेको छ।
पाँच विगाहा क्षेत्रफलमा फैलिएको यस अस्पतालमा ९ वटा अत्याधुनिक भवनहरू निर्माण गरिएका छन्। हाल ३०० शय्याको स्वीकृति पाएको यस अस्पताललाई ३ वर्षभित्र ५०० शय्यामा स्तरोन्नति गरी मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य राखिएको छ। अस्पतालमा ३२ विशेषज्ञसहित ७० भन्दा बढी चिकित्सक र ११० नर्स गरी ३५० कर्मचारीले काम सुरु गरिसकेका छन्।
अस्पतालमा एमआरआई, सिटी स्क्यान, ७० वटा आईसीयु, १४ वटा अपरेसन थिएटर र क्याथ ल्याब जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध हुनेछन्। व्यवसायी खुमाप्रसाद अर्यालको नेतृत्वमा रहेको यो अस्पताल उनको छैटौँ ठूलो स्वास्थ्य लगानी हो। यसअघि उनले गण्डकी, युनिभर्सल र नेपालगन्ज मेडिकल कलेज लगायतमा लगानी गरिसकेका छन्।




