ठेक्कामा कमिसन लेनदेनको आरोपमा पूर्वमन्त्री खड्काविरुद्ध अख्तियारमा उजुरी

२०८२ पुष २२, मंगलवार १२:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। इन्जिनियरिङ ठेक्कासँग सम्बन्धित तीन करोड रुपैयाँको चेक कमिसनमा बाँडफाँट भएको आरोपमा पूर्वमन्त्री खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी पटेल इन्जिनियरिङसँग सम्बन्धित एक एजेन्टले दिएको बताइएको छ ।

उजुरी अनुसार जगदुल्ला आयोजनाका प्रमुख सञ्जय सापकोटालाई ठेकेदार कम्पनीका एजेन्टहरूसँग भेट गराउन खड्काले भूमिका खेलेका थिए । मन्त्रालयमै बसेर कमिसनबापतको चेक लेनदेन गराइएको दाबी उजुरीमा उल्लेख छ । चेक साटिने अवस्था नदेखिएपछि आफू जोगिन अख्तियार गएको एजेन्टको भनाइ रहेको स्रोतले जनाएको छ ।

उजुरीमा खड्काले हाई हिमालय हाइड्रोका मालिक किरण मल्लसँग बिचौलिया अरुण केसीमार्फत सिक्टा आयोजनाको कमिसन लिएको आरोप पनि लगाइएको छ । यसका साथै उनी मन्त्री हुँदा सिँचाइ मन्त्रालय अन्तर्गत कर्मचारी सरुवामा घुस लिएको, नेपाल स्काउटको जग्गाको भाडा नतिरेको तथा अस्वाभाविक रूपमा ठूलो सम्पत्ति आर्जन गरेको विषयमा पनि छानबिन भइरहेको अख्तियार स्रोतको दाबी छ ।

खड्का ऊर्जामन्त्री रहेका बेला जलविद्युत् आयोजनाको लाइसेन्स वितरणमा आर्थिक चलखेल गरेको, नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्वार्थकै कारण मनमुटाव भएको, तथा नेपाल स्काउटको जग्गा दुरुपयोग गरिएको आरोप यसअघि पनि सार्वजनिक भइसकेका थिए । उनले अख्तियारलाई चुनौती दिँदै सार्वजनिक भाषण गरेको प्रसंगसमेत चर्चामा आएको थियो ।

आफ्नै होटलमा संसदीय समितिको बैठक राखी स्वार्थप्रेरित कानुन निर्माणमा प्रभाव पार्न खोजिएको आरोप पनि खड्कामाथि छ । उनी स्वयं जलस्रोतसम्बद्ध व्यवसायमा संलग्न व्यक्ति भएकाले स्वार्थ बाझिने अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाइएको भन्दै आलोचना हुँदै आएको थियो ।

स्रोतका अनुसार खड्का विभिन्न जलविद्युत् कम्पनीका सेयरहोल्डर हुनुका साथै होटल व्यवसायमा समेत लगानी गरिरहेका छन् । नेपाल स्काउटको जग्गा लिजमा लिएर करिब पाँच करोड रुपैयाँ भाडा नतिरेको भन्दै खड्काल्याण्ड डेभलपमेन्ट प्रालि, संखुवासभा आधुनिक कृषि कम्पनी, मकालु बरुण एग्रो कन्सर्न, होटल फोरेष्ट इन र लैनचोर बैंक्वेटलगायत संस्थाहरू पनि अनुसन्धानको घेरामा परेका छन् ।

अख्तियारले बिचौलिया अरुण केसीमाथि समेत विस्तृत छानबिन गरे खड्का–केसीबीचको अवैध आर्थिक कारोबार सार्वजनिक हुने स्रोतको भनाइ छ । यद्यपि यी सबै विषयमा खड्काको तर्फबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार