काठमाडौं । सरकार गठन भएको सय दिन बितेपछि प्रधानमन्त्री सुशीला कार्की र प्रमुख दलका शीर्ष नेताबीचको संवादहीनता तोडिएको छ ।
जेनजी आन्दोलनपछि कार्की नेतृत्वमा सरकार गठन भएको झन्डै साढे तीन महिनापछि प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताका बीचमा पहिलोपटक छलफल भएसँगै संवादहीनता तोडिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष पहलमा मंगलबार छलफल भएको छ । राष्ट्रपति निवास शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको हो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । आन्दोलनपश्चात तत्कालीन प्रधामन्त्री ओलीले राजीनामा दिएका थिए ।
त्यसपछि प्रतिनिधिसभा विघटन भएको थियो । प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति पौडेलले विघटनलाई स्वीकृत गर्दै सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट दिएका थिए ।




