जेनजीका माग पूरा नभए निर्वाचन असम्भव- सुदन गुरुङ

२०८२ कार्तिक २७, बिहीबार ११:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ।  जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीहरूका मागहरू पूरा नभएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो चेतावनी दिएका हुन् ।

गुरुङले केही बाहेकका सबै जेनजीहरू एक ठाउँमा उभिएकाले मागहरू अनिवार्य रूपमा पूरा हुनुपर्ने धारणा राखे । माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनको भनाइ छ ।

जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र माग पूरा हुने विश्वास दिलाए पनि अहिले काम नभइरहेको उनले गुनासो गरे ।

उनले भने, “समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ । एक–दुई जना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई नै बोलाउँछौं । माग पूरा नभई कसरी चुनाव हुन्छ ? यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगी अड्डामा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन उहाँहरूलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । अहिले आएर चुनाव–चुनाव भन्नुहुन्छ ।”

माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने भन्दै उनले गृहमन्त्रीले जेनजीका माग छोडेर निर्वाचनको रटान मात्र लगाएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार