इजरायली सेनाद्वारा विपीन जोशी जीवित नरहेको पुष्टि, परिवार र राजदूतलाई जानकारी

२०८२ आश्विन २७, सोमबार ११:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । इजरायली सेनाले हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपीन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको छ। इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत इजरायली सेनाले यो दुःखद खबर पुष्टि गरेको हो।
हमासले २०८० असोज २३ गते किबुज आलुमिमबाट जोशीलाई अपहरण गरेको थियो। त्यसपछि मंसिरसम्म उनी जीवित रहेको भिडियो सार्वजनिक भए पनि त्यसपछि उनको अवस्थाबारे इजरायलले केही खुलाएको थिएन। विपीनको परिवारलाई गत वर्ष इजरायल लगिएको थियो र अहिले उनीहरू अमेरिका पुगेका छन्।
गत बुधबार बेलुका विपीनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो। तर, हमासले आफ्ना कब्जामा रहेका २० जना इजरायली कैदीहरू हस्तान्तरण गर्ने तयारी गरिरहेकै बेला इजरायली सेनाले विपीनको मृत्यु पुष्टि गरेको छ।
यसबीच इजरायली सरकारले जोशी परिवारलाई ढाडस देखाए पनि सत्य लुकाएको आरोप उठ्न थालेको छ। नेपालका जनताका लागि यो घटना केवल एक व्यक्तिको मृत्यु मात्र नभई विदेशमा परेका नेपालीहरूको सुरक्षा र सत्ताधारी शक्तिले मानवीय संवेदनालाई कसरी राजनीति बनाउँछ भन्ने गम्भीर उदाहरण बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार