काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा। आरजु राणा देउवा बुधबार सैनिक अस्पतालबाट डिस्चार्ज भई ललितपुर बसाइँ सरिरहेका छन्।
गत भदौ २४ गते जेन–जी आन्दोलनकारीको नाममा सक्रिय उग्र समूहले बूढानीलकण्ठस्थित देउवा निवासमै कुटपिट र धारिलो हतियारले आक्रमण गर्दा दुवै जना गम्भीर घाइते भएका थिए। आक्रमणपछि नेपाली सेनाले तत्काल उद्धार गरी उनीहरूलाई सैनिक अस्पतालमा भर्ना गरेको थियो।
आक्रमणका क्रममा देउवाको गर्धनमा धारिलो हतियार प्रहार हुँदा १२ टाँका लगाउनुपरेको थियो भने आरजु पनि घाइते भएकी थिइन्। करिब एक महिनापछि स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार दुवैलाई डिस्चार्ज गरिएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
जेन–जी आन्दोलनकै क्रममा देउवा निवास पूरै जलाइ ध्वस्त पारिएको थियो। त्यही कारण तत्काल बूढानीलकण्ठ फर्कन नसक्ने भएकाले उनीहरू अब ललितपुरमा बस्ने भएका छन्।




