देशभर लम्पी स्किनको प्रकोप: २९ जिल्लामा साढे २७ हजार पशु संक्रमित, ८४६ को मृत्यु

२०८२ श्रावण २२, बिहीबार ११:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। देशभर लम्पी स्किन रोगको संक्रमण फैलिँदा २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसी प्रभावित भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, गत असार ६ देखि साउन २० गतेसम्मको अवधिमा यो रोगबाट ८४६ पशुको मृत्यु भइसकेको छ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार, सुदूरपश्चिम बाहेक देशका सबै प्रदेशमा लम्पी स्किनको संक्रमण फैलिएको छ। यसबाट कोशी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ ११ जिल्लाका २२ हजार १२२ पशुमा संक्रमण देखिँदा ६३७ पशुको मृत्यु भएको छ। त्यस्तै, मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशुमा संक्रमण पुष्टि भएको छ भने १७९ पशुले ज्यान गुमाएका छन्। बागमती प्रदेशका ५ जिल्लामा ७९३ पशु संक्रमित भएका छन् र ३० वटाको मृत्यु भएको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भने संक्रमणको प्रभाव न्यून देखिएको छ। गण्डकीको एक जिल्लामा ७, लुम्बिनीका तीन जिल्लामा १६ र कर्णालीको एक जिल्लामा संक्रमण पुष्टि भए पनि यी प्रदेशहरूमा हालसम्म रोगका कारण कुनै पशुको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
रोग नियन्त्रणका लागि सरकारले खोप अभियानलाई तीव्रता दिएको छ। मन्त्रालयका अनुसार, हालसम्म देशभर ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार