भारतबाट ७ किशोरीको उद्धार, मानव तस्कर पक्राउ

२०८२ श्रावण १७, शनिबार १३:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा । वैदेशिक रोजगारीको लागि हङकङ लैजाने प्रलोभनमा भारत पुर्‍याइएका सात नेपाली किशोरीको सीमावर्ती पानीट्याङ्की नाकाबाट उद्धार गरिएको छ। मानव तस्करीको अभियोगमा भारतीय प्रहरीले दुईजनालाई पक्राउ गरेको माइती नेपालले जनाएको छ।

माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार शुक्रबार भारतीय प्रहरीले उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका सङ्खुवासभा जिल्लाका सातै जना किशोरी र पक्राउ परेका अभियुक्तलाई हाल भारतको खोरीबारी प्रहरी थानामा राखिएको छ।
पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभाको मकालु-३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन्।

अभियुक्तहरूले किशोरीहरूलाई हङकङमा रोजगारी दिलाइदिने भन्दै काँकडभिट्टा नाका हुँदै भारतको पानीट्याङ्की पुर्‍याएका थिए।उनीहरूको नक्कली आधार कार्डलगायतका कागजात बनाउन सिलिगुढीतर्फ लैजाँदै गर्दा भारतीय प्रहरीले पक्राउ गरेको हो।
माइती नेपालका संयोजक घिमिरेसहितको टोली किशोरीहरूलाई नेपाल ल्याउन शुक्रबार नै पानीट्याङ्की पुगे पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै भारतीय प्रहरीले उनीहरूलाई फिर्ता पठाएको छैन। यता, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भने घटनाबारे भारतीय पक्षबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार