माइतीघरमा मिटरब्याज पीडितको कालोपट्टी बाँधेर प्रदर्शन

२०८२ श्रावण १४, बुधबार १४:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। मिटरब्याजी साहुबाट ठगिएको भन्दै सिराहाका दुई पीडितले काठमाडौंको माइतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। उनीहरुले साहुलाई तत्काल कारबाही गरी आफ्नो जग्गा फिर्ता पाउनुपर्ने माग राखेका छन्।
सिराहाको लहान नगरपालिका-३ की सीता कुमारी मण्डल र वडा-७ का श्याम विश्वकर्माले न्यायका लागि धर्ना दिएका हुन्। उनीहरूका अनुसार, लहान-३ का साहु रामलोचन गुप्ता र लहान-७ का राम कुमार महतो (रामबाबु) बाट पाँच-पाँच लाख रुपैयाँ ऋण लिँदा उनीहरुको जग्गा नै पास गराइएको थियो।
पीडितहरुले हालसम्म २१ लाख रुपैयाँ बुझाइसक्दा पनि साहुले जग्गा फिर्ता गर्न नमानेको आरोप लगाएका छन्। “पाँच लाखको ऋणमा २१ लाख तिरिसक्यौं, तर पनि हाम्रो जग्गा फिर्ता भएन,” उनीहरुले भने, “न्यायका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि कालोपट्टी बाँधेर धर्ना बस्न बाध्य भयौं।”
उनीहरुले राज्यले आफ्ना पीडा नदेखेको र न्याय दिन आनाकानी गरेको भन्दै सांकेतिक रूपमा आँखामा पट्टी बाँधेर विरोध जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार