काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट सात बुँदे माग राख्दै आमरण अनशनमा बसेका अभियन्ता तीर्थराज भट्टराईसँग सरकारी टोलीले वार्ता गरेको छ। काठमाडौंको माइतीघर मण्डलामा अनशनरत भट्टराईसँग सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरूले छलफल गरेका हुन्।
वार्तामा सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मच्चा काजी महर्जन, उपमहानिर्देशक सुनिल कुमार ठाकुर र नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना सहभागी थिए।
भट्टराईले स्थानीय स्तरमा खेर गइरहेको बाँस र बाँसजन्य कच्चा पदार्थको उत्पादन, उपयोग र प्रवर्द्धनका लागि नीतिगत व्यवस्था गर्नुपर्ने लगायतका ७ बुँदे माग अघि सारेका छन्। उनका अनुसार, सरकारले पटक-पटक माग बेवास्ता गरेपछि आफू अनशन बस्न बाध्य भएको हो। “हामीले जेठ २३ र असार ६ गते प्रधानमन्त्रीलाई औपचारिक पत्राचार गरेका थियौं, तर कुनै प्रतिक्रिया नआएपछि अनशनमा बस्नुको विकल्प रहेन,” उनले भने।
अनशनरत भट्टराई पक्ष र वन तथा वातावरण मन्त्रालयबीच पनि माग सम्बोधनका लागि छुट्टै छलफल भइरहेको जनाइएको छ। सरकारी वार्ता टोलीले मागहरूप्रति सकारात्मक रहेको र यथाशीघ्र समाधानको पहल गर्ने आश्वासन दिएको भट्टराई पक्षले बताएको छ।




