कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने एक कार्यक्रममा जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीका गाडी कैलालीको चिसापानी नजिक ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, मन्त्री पाल चढेको बा.२ झ १४१९ र मन्त्री सार्की चढेको से.१ झ ३३० नम्बरको गाडी ठोक्किएका थिए।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन, यद्यपि दुवै गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री सहभागी हुने कार्यक्रमअघि भएको यो घटनाले केहीबेर तनाव सिर्जना गरेको थियो।




