काठमाडौं। बागमती प्रदेश सरकारमा देखिएको राजनीतिक संकट थप गहिरिएको छ। खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले मंगलबार पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध पार्टी (नेपाली कांग्रेस) भित्रै अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न विवादका बीच खड्काले राजीनामा दिएका हुन्। योसँगै मुख्यमन्त्री लामाको विपक्षमा उभिएर राजीनामा दिने कांग्रेसका मन्त्रीको संख्या पाँच पुगेको छ।
मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन २१ प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनको पद धरापमा परेको छ। यद्यपि, हस्ताक्षरकर्तामध्ये दुई सांसदले मुख्यमन्त्रीलाई नै समर्थन गर्ने बताएपछि प्रस्तावको भविष्य अनिश्चित बनेको छ। ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्।




