पारिवारिक विवादमा दाजुको हत्या गर्ने भाइ सिरहाबाट पक्राउ

२०८२ श्रावण १२, सोमबार १६:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिराहा। सिराहामा सामान्य पारिवारिक विवादमा आफ्नै दाजुको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदालाई भारततर्फ भाग्दै गर्दा पक्राउ गरेको हो। उनले गत बिहीबार आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको हत्या गरेका थिए।

प्रहरीका अनुसार, मदिरा सेवन गरी घर आएका श्यामकुमारले श्रीमतीलाई कुटपिट गर्न थालेपछि दाजु मोतीरामले रोक्न खोजेका थिए। सोही क्रममा श्यामकुमारले दाजुको छातीमा धारिलो हतियार प्रहार गरेका थिए।
गम्भीर घाइते भएका मोतीरामलाई छिमेकीले तत्काल लहानस्थित प्रादेशिक अस्पताल पुऱ्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो।

हत्यापछि फरार भएका श्यामकुमारलाई प्रहरीले औरही गाउँपालिका–३, जमुवा नहरको बाटो हुँदै भारततर्फ भाग्ने क्रममा नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार