रेबिज र सर्पदंशको औषधि अभाव टार्न सातै प्रदेशमा भ्याक्सिन आपूर्ति

२०८२ श्रावण १२, सोमबार १५:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर देखिएको रेबिज र सर्पदंश विरुद्धको औषधिको अभाव टार्न सातै प्रदेशमा भ्याक्सिन तथा औषधि आपूर्ति गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि स्वास्थ्य सेवा विभागले तत्काल खरिद गरी प्रदेशका आपूर्ति केन्द्रहरूमा औषधि पठाएको हो।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजङ्ग रायमाझीले यसअघि खरिद प्रक्रियामा रहेको औषधिहरू सबै प्रदेशका आपूर्ति केन्द्रमा पुगिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, स्वास्थ्यमन्त्री पौडेलले अभाव हुन नदिन तत्काल व्यवस्थापन गर्न निर्देशन दिएपछि विभागले दुवै प्रकारका औषधि आपूर्ति गरेको हो।

विभागको तथ्याङ्कअनुसार, हालसम्म ५१ हजार एक सय ८० भायल रेबिज विरुद्धको भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा १० हजार ८० भायल रेबिजको खोप र एक हजार भायल सर्पदंश विरुद्धको भेनम आपूर्ति भएको छ।
त्यसैगरी, सर्पदंशको उच्च जोखिम रहेको मधेस प्रदेशमा सबैभन्दा बढी दुई हजार पाँच सय भायल भेनम र करिब पाँच हजार भायल रेबिजको खोप पठाइएको छ। यो आपूर्तिसँगै अब स्वास्थ्य संस्थाहरूमा रेबिज र सर्पदंशको उपचार सहज हुने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार