सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्। आइतबार रातिदेखि सम्पर्कविहीन भएको उक्त परिवारको घरमा सामान्य क्षति पुगेको र उनीहरूले पालेका चौपाया अलपत्र अवस्थामा भेटिएपछि प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको छ।
गोलन्जोर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा बसोबास गर्ने उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, हायुको घरमा सामान्य क्षति देखिएको छ भने उनीहरूले पालेका कुखुरा, बाख्रा र भैंसी अलपत्र अवस्थामा छन्। “हायु परिवारका कोही पनि सदस्य घरमा छैनन्,” एसपी सुवेदीले भने, “हामीले स्थानीय जनप्रतिनिधि र गाउँलेसँग सोधपुछ गरिरहेका छौं।”
स्थानीय वडाध्यक्ष रविन श्रेष्ठले सीमान्तकृत हायु समुदायको उक्त परिवारले सामाजिक सुरक्षा भत्ता बुझेर फर्केपछि सम्पर्कविहीन भएको जानकारी दिए। प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र हराएकाहरूको खोजीकार्य तीव्र पारिएको जनाएको छ।




