काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन नेपाल चितवन पुगेका छन् । शाक्य आज बिहान भरतपुर आएका हुन् ।
विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन पुगेका हुन् ।
शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको अवस्थाका बारेमा सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्ने छन् ।
हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ । हर्दी स्टेशनका इन्चार्ज रोशन खनियाँले ट्रान्सफर्मरको काम सकेर चार्ज गर्ने काम सुरु गरिएको बताए ।
उनले अब केही प्राविधिक परीक्षण सरेकर लाइन जोडिने बताए । हर्दी सबस्टेशनबाट २४ एमभीएको ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनको सबै जसो ठाँउमा यहीँबाट विद्युत सप्लाई गरिने इन्चार्ज खनियाँले बताए ।




