मकवानपुर। मकवानपुर प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ मा अपराध नियन्त्रण, लागुऔषध रोकथाम र भन्सार छलीमा उल्लेखनीय सफलता हासिल गरेको छ। एक वर्षको अवधिमा प्रहरीले १६ करोड १७ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र मुद्रा बरामद गरेको हो।
प्रहरीले ८ किलो सुन, विदेशी मुद्रासहित विभिन्न सामग्री बरामद गरेको छ। लागुऔषधतर्फ ६ हजार किलोभन्दा बढी गाँजा, ५१ किलो चरेस र ठूलो परिमाणमा अन्य लागुऔषधसहित २८९ जनालाई पक्राउ गरिएको छ। साथै, करिब १६० बिगाहामा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिएको छ।
यस अवधिमा १८३ जना फरार अभियुक्त पक्राउ परेका छन् भने ट्राफिक नियम उल्लंघनबाट २ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको छ। एक वर्षमा भएका सवारी दुर्घटनामा ५० जनाले ज्यान गुमाएका छन्।




