काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले वर्तमान सरकारको औचित्य समाप्त भइसकेको घोषणा गर्दै कडा आलोचना गरेकी छिन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकार जनभावना विपरीत दमनकारी शैलीमा अघि बढेको आरोप लगाइन्।
“यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनैपनि पूरा गर्न सकेको छैन,” उनले भनिन्, “त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ। संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धी मानेको देखिन्छ।”
भिजिट भिसा प्रकरणमा सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गर्दै उनले छानबिन समितिको प्रभावकारितामाथि प्रश्न उठाइन्। “दुई महिनादेखि भिजिट भिसा प्रकरणलाई लिएर हामी आन्दोलनमा छौं,” उनले भनिन्, “तर छानबिनको नाममा बनेको समिति बाँदरको पुच्छर जस्तै भएको छ — न लौरो, न हतियार। त्यसैले हामी संसदको कारबाहीमा सहभागी भएका छैनौं।”
सांसद कार्कीले संसदमा रहेका प्रमुख दलहरूले सरकारको मनोमानीलाई मौन समर्थन गरिरहेको समेत आरोप लगाइन्। “हामी बहिष्कारमा छौं तर सरकार भने हाईसन्चो भएजस्तो प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दैछ,” उनले थपिन्।




