भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८, बोडेमा आज बिहान दुई दिदीबहिनी एउटै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका-८ घर भई हाल बोडेमा डेरा गरी बस्ने १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेल मृत अवस्थामा भेटिएका हुन्। उनीहरू चक्रधर प्रजापतिको घरको भुइँ तलामा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार, उनीहरू करिब १५ दिनदेखि मात्रै उक्त घरमा डेरामा बस्दै आएका थिए। घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको कारणबारे खुल्न सकेको छैन र प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




