काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको हो । यो नेपालको ओडिआई इतिहासकै विशाल योगफल हो । नेपालका ओपनरको उत्कृष्ट सुरुवातमा नेपालले रनको विशाल योगफल तयार पार्न सफल भएको हो । तर, नेपाली खेलाडी पूरै ओभर क्रिजमा टिक्न भने सकेनन् । आशिफ शेखले सानदार शतकीय इनिङ्स खेले । उनी ११० बलमा ११० रन बनाउँदै क्याच आउट हुन पुगे ।
साथै उनले एकदिवसीय क्रिकेट करिअरमा हजार रन पूरा गरेका छन् । सन् २०२१मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले नेपालका लागि ३२ खेल खेलेका छन् । पहिलो विकेटका लागि ओपनरद्वय शेख र कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । भुर्तेल ४५ रनमा क्याच आउट हुन पुगे । त्यस्तै, भीम सार्कीले ४४ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३० रन, आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन जोडे ।
बलिङतर्फ पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, रिले हेकुरेले ३ विकेट तथा अलि नावले एक विकेट लिए ।