काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखला खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घाइते भएका छन् । उनले अब यूएईविरुद्धको अन्तिम खेल गुमाउने भएको छन् ।
कुशलको ‘ग्रोइन इन्जुरी’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले कुशलको स्थान सन्दीप जोराले लिने जनाएको छ । यूएई भ्रमणमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई पहिलो खेलमा चार र दोस्रो खेलमा तीन विकेटले पराजित गरेको थियो । नेपाल आयोजक यूएईसँग ६८ रनले पराजित भएको थियो । कुशलले पीएनजीविरुद्धको पहिलो खेलमा ५६ रन बनाएका थिए भने दोस्रो खेलमा रनको खाता खोल्न सकेका थिएनन् ।
यूएईविरुद्धको खेलमा कुशलले पाँच रन बनाएका थिए । जारी शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यूएईले आज पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ ।