काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदानमा ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपालमा चैत पहिलो हप्तादेखि तेस्रो हप्तासम्म थ्री नेसन्स कप आयोजना गर्ने निर्णय गरेको हो ।
एन्फाका अनुसार प्रतियोगितामा नेपालसँगै भुटान र लाओसको सहभागिता रहनेछ । प्रतियोगिताका लागि एन्फाले टिकटदर पनि तोकेको छ । प्रतियोगिताका लागि एन्फाले साधारणतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट तोकेको छ । यद्यपि, बुधबारको बैठकलाई एन्फाका बहुमत सदस्यले बहिष्कार गरेका थिए । बैठकका लागि उपस्थित एन्फाका २० सदस्यमध्ये १० सदस्यले बहिष्कार गरेका थिए ।
बैठक बहिष्कार गर्नेमा उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा छन् । अर्का सदस्य टीका लामाले पनि वैधानिक नभएको भन्दै बैठक छोडेर हिँडेका छन् । बैठक बहिष्कार गर्ने सदस्यहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङ तानासाह र गुन्डागर्दी ढंगमा चलेको आरोप लगाएका छन् ।
बहिष्कारबीच नेम्वाङले बैठक जारी राखेका थिए । २१ केन्द्रीय सदस्यमध्ये मनीष जोशी अनुपस्थित थिए ।