काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सहयोग गर्न एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि बैठकले गरेको छ ।
प्रदेश सरकारले भूकम्पमा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तजन र परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै सरकारले घाइतेको शीघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।