स्याङ्जा, १५ पुस । स्याङजाको कालीगण्डकी गाउँपालिकाले आफ्नै छाप, झण्डा र गान प्रयोगमा ल्याउने भएको छ ।
गाउँ कार्यपालिकाको पुस १२ को निर्णयअनुसार आफ्नै छाप, झण्डा र गान प्रयोगमा ल्याउन लागिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
गाउँ कार्यपालिकाको असोज २७ को निर्णय बमोजिम गाउँपालिकाले छाप र झण्डा डिजाइनका लागि खुल्ला प्रतिस्पर्धाको लागि सूचना प्रकाशित गरेको थियो । पालिकामा प्राप्त हुन आएका डिजाइनहरुमध्येबाट गाउँपालिकाको मौलिक विशिष्टता झल्काउने डिजाइनयुक्त छाप र झण्डा छनौट गरेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।
पालिकाले जिल्लाभरीमै आफ्नै छाप, झण्डा र गान भएको पहिलो स्थानीय तह भएको दाबी गरेको छ । यसअघि नै गाउँपालिकाभित्र हुने हरेक औपचारिक कार्यक्रममा नेपालको राष्ट्रिय गानसँगै आफ्नो गाउँपालिका गान प्रयोग गर्दै आएको उक्त गाउँपालिकाले अब भने गाउँपालिकाको विशिष्ट पहिचान झल्किने छाप र झण्डा समेत प्रयोग गर्ने भएको छ ।
छाप, झण्डा र गानको मर्यादित प्रयोगका लागि कार्यविधि समेत तय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताउनुभयो । छनौट भएको गाउँपालिकाको छाप र झण्डा दुवैको डिजाइन गाउँपालिकाभित्रकै प्रतिस्पर्धीबाट प्राप्त हुन आएको प्रशासकीय अधिकृत पाण्डेयको भनाई छ ।कालीगण्डकी गाउँपालिका ५ कि रितिजा श्रेष्ठले छापको डिजाइन गर्नुभएको हो भने ७ का मदन भट्टराईले झण्डाको डिजाइन गर्नुभएको हो । दुवै डिजाइनकर्ताले जनही नगद रु ५० हजार र प्रमाणपत्र प्रदान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताउनुभयो ।