वालिङमा प्राङ्गरिक मल बनाउन ‘कम्पोस्ट बिन’ वितरण, बजार क्षेत्रमा कौशी खेती प्रवद्र्धन गर्दै

२०७९ पुष १३, बुधबार १६:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङजा , १३ पुस । वालिङ नगरपालिकाको बजार क्षेत्रमा कौशी खेती प्रवद्र्धन गरिने भएको छ । बजारमा घर मात्रै भएका तथा तरकारी लगाउने ठाँउ नभएका परिवारलाई लक्षित गर्दै यो अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । बजार क्षेत्रमा रहेका घर घरमा प्राङ्गरिक मल बनाउने र अगार्निक रुपमा कौशी खेती गर्न प्रेरित गर्ने गरी नगरपालिकाले काम गरिरहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बजार क्षेत्रमा कौशी खेती प्रवद्र्धन गर्छाै भने गाँउ गाँउमा जग्गामा नै खेतीको प्रवद्र्धन गछौं ।” नगरपालिकाले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर कृषि तथा पशुपालनको व्यवशायिकताका लागि बिभिन्न कामहरु गरिरहेको उपप्रमुख तिवारीले बताउनु भयो । प्राङ्गरिक मल बनाउनका लागि ‘कम्पोस्ट बिन’ अर्थात् कुहिने फोहर बाट मल बनाउने भाँडा समेत वितरण गरेको छ । बजारमा बस्ने नागरिकलाई कौशी खेतीमा आकर्षित गर्ने उद्देश्यका प्राङ्गरिक मल बनाउने तरिका सहित बिन वितरण गरिएको हो ।

प्रत्येक दिन भान्छाबाट निस्कने कुहिने फोहर पनि व्यवस्थापन गर्न सजिलो हुने र खेतीका लागि आवश्यक पर्ने प्राङ्गरिक मलको पनि व्यवस्थापन हुने देखेर कम्पोष्ट बिन वितरण गरिएको उपप्रमुख तिवारीको भनाई छ । प्राङ्गरिक मलको उत्पादनले बजारबासीलाई तरकारीको जोहो गर्न सजिलो हुने विश्वास रहेको तिवारीले बताउनु भयो । बजारमा घर र सामान्य करेसावारी भएका तथा घर कै कौशीमा तरकारी लगाउन सम्भव भएका नागरिकलाई मात्रै बिन वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद अर्यालले बताउनु भयो ।

संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी नेपाल) र दियालो संस्थाको सहकार्यमा बजारका नागरिकलाई बिन वितरण गरिएको हो । शहरबजारमा भान्छाबाट निस्कने फोहोर व्यवस्थापन गर्न समस्या भईरहेको भन्दै युएनडिपीको कार्यक्रम प्रमुख राजेश बर्माले कम्पोष्ट बिनमा हालेर सहजै मल बनाउने र तरकारी फलाउन प्रयोग गर्न सकिने बताउनु भयो । कम्पोष्ट बिनको प्रयोगले गल्ने फोहोरको व्यवस्थापनका लागि अरुको भरमा रहनु नपर्ने बर्माको भनाई छ ।

कम्पोष्ट बिनको प्रयोगको बारेमा जानकरी गराउदै युएनडिपीका कृषि बिज्ञ सुदिप श्रेष्ठले बिनबाट बनाईने मल सवै जातका तरकारीलाई राम्रो फाईदा पुग्ने बताउनु भयो । जग्गा जमिन हुनेले मात्र होइन नहुनेले पनि घरको छतमा वा बोरामा माटो हालेर आँगन वा कहीं बोरा अड्याउन मिल्ने ठाउँमा पनि मलको प्रयोग गरी तरकारी फलाउन सकिने श्रेष्ठको भनाई छ । कम्पोष्ट मल अत्यन्त सरल र वातावरणमैत्री तरिकाले बनाउन सकिन्छ । आँगनको एक कुनामा फोहोरलाई एउटा भाँडोमा जम्मा गरेर थोरै समयमा सानो ठाउँमा दुर्गन्ध नआउने गरी मल बनाउन सकिने श्रेष्ठको भनाई छ ।

बिनको तल्लो भागबाट तयार भएको मल निकाल्न मिल्छ । रासायनिक मल प्रयोग गरिएका खाद्यान्नले मानिसको स्वास्थ्यमा असर गर्ने हुँदा सो मलको प्रयोग गरी फलेका अर्गानिक तरकारी अनि फलफूलले धेरै फाइदा पुग्ने श्रेष्ठकोे दाबी रहेको छ । पहिलो चरणमा बजारका एक सय ७० परिवारलाई कम्पोष्ट बिन वितरण गरिएको साभेदार दियालो संस्थाका अध्यक्ष सीतादेवी पंगेनी गैह्रेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय