स्याङ्जामा डकर्मीको भर, भूकम्प प्रतिरोधी घर बनाउने तालिम

२०७९ पुष ८, शुक्रबार १४:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ८ पुस । स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो । नगरभित्रका १४ वडाबाट महिला, पुरुष तथा समावेशिताका आधारमा तीन/तीन जनाका दरले ४२ निर्माण व्यवसायी, नाइके र कामदार सहभागी भएका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

“युएनडिपीले प्राविधिक, निर्माण सामग्री र प्रशिक्षण दिन स्रोतव्यक्ति उपलब्ध गराएको छ” उहाँले भन्नुभयो, “नगरपालिकामार्फत प्रत्येक वडाबाट तीन÷तीनजनाका दरले कामदार छनोट गरी सहभागी गराएका छौँ ।”प्राविधिकको प्रत्यक्ष निगरानीमा नगरपालिका परिसरभित्रै प्रयोगात्मक र सैद्धान्तिक विधिमार्फत प्रशिक्षण दिइएको हो । निर्माणका क्षेत्रमा काम गर्दै आउनुभएका निर्माण व्यवसायी, कामदारलाई सीप सिकाएर दक्ष बनाउने र उनीहरुले कार्यक्षेत्रमा फर्केर सहयोगीलाई सिकाउने भएकाले अब बन्ने घर/भवन भूकम्प प्रतिरोधी हुँदै जाने विश्वास अधिकृत भट्टराईको थियो ।

“यहाँ सहभागीले भवन संहितासम्बन्धी जानकारीसहित सीप सिक्नेछन्, सिकेको सीपलाई आफ्ना सहयोगीलाई सिकाउने भएकाले लक्षित वर्गसम्म पुग्ने छ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायी तथा कामदारलाई नगरपालिकामा सूचिकृत गर्दै आगामी दिनमा काम गर्न सजिलो र सहज हुने विश्वास नगरपालिकाको छ ।” निर्माणका क्षेत्रमा काम गर्दै आएका निर्माण व्यवसायी तथा कामदारलाई दक्ष बनाइ भूकम्पप्रतिरोधी घर बनाउने मुख्य उद्देश्य रहेको आइडिया टेक कन्सल्टेन्सीका इञ्जिनीयर सन्तोष धितालले बताउनुभयो । “निर्माण व्यवसायी तथा कामदारले विगतमा पनि घर÷भवन निर्माण गरिरहेका थिए ” उहाँले भन्नुभयो, “उनीहरुले आ–आफ्नो तरिकाले गरेको कामलाई अवका दिन थप गुणस्तरीय र सुरक्षित बनाउनका लागि प्रयोगात्मक अभ्यास गराइएको हो ।”

घर निर्माण प्रक्रिया, सामग्रीको प्रयोग, गुणस्तरीयता, छड बाँध्न र जडान गर्न, नाप लिन, उपयुक्त ठाउँमा झ्याल, ढोका राख्न, उपकरणको जडान कहाँ र कसरी गर्नेलगायत थुप्रै विषयमा प्रयोगात्मक सीप प्रदान गरिएको इञ्जिनीयर धितालले बताउनुभयो । गाउँ–घरमा आफूभन्दा अग्रजसँगै निर्माण कार्यमा हिँड्नु भएका वालिङ– ४ का जीवन विक यो तालिममा सहभागी हुन पाउँदा खुसी हुनुभयो । “सिनियरबाट गाउँघरमा माटोको घर बनाउने काममा हिँडेको थिएँ” उहाँले भन्नुभयो, “सिनियरबाट सिकेको सीपभन्दा पनि अझै यो बढी प्रभावकारी भएको महसुस गरेको छु ।” घर बनाउदा भूकम्प प्रतिरोधी र सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रयोग गरेरै सिकिएकाले अब काममा जाँदा त्यहीअनुसार गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार