नेपाल पत्रकार महासङ्घ स्याङ्जाको १३ ओै वार्षिक साधारण सभा सम्पन्न

२०७९ पुष २, शनिबार १८:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २ पौष । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा स्याङ्जाको १३ ओ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

वालिङको अमर होटलमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि स्याङ्जा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटीले पत्रकारिता समाजको ऐना भएकाले पत्रकारले सत्यतथ्य उजागर गरी विकृतिका विरूद्ध उभिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारको आर्थिक उपार्जनको समस्या बुझ्नुपर्ने र पत्रकारको वृत्ति विकासमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

काङ्ग्रेस जिल्लाका कार्यबाहक सभापति केदार काफ्ले, कालीगण्डकी गाउँपालिकाका प्रमुख तथा गाउँपालिका महासघंका महासचिव खिमबहादुर थापा, स्याङ्जा प्रहरी प्रमुख राजीव बहादुर बस्नेत, अनुसन्धानका प्रमुख एसपी वीरेन्द्रसिंह कार्की, सशस्त्रका डिएसपी राजनलाल श्रेष्ठ लगायतको उपस्थिति भएको कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप कोइराला, प्रेस चौतारीका उपाध्यक्ष मणि अर्याल, काङ्ग्रेस कार्यबाहक सभापति केदार काफले, प्रेस सेन्टर गण्डकीका संयोजक अर्जुन काफ्ले, प्रहरी प्रमुख राजीवबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस वालिङका नगर सभापति नेत्रप्रसाद पाण्डे,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सोभाकान्त पौडेल,पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, पत्रकार महासङ्घका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुलीलगायतले साधारण सभाको सफलताको कामना गर्नुभयो ।

वक्ताहरूले पत्रकारहरू श्रमजीवि पत्रकारको हितमा र प्रेस स्वतन्त्रताको पक्षमा लागिराख्नुपर्ने, पत्रकार राजनैतिक दलको प्रवक्ता बन्न नहुने, पत्रकारले राज्य र सत्तालाई झक्झक्याइराख्नु पर्ने, महासङ्घबाहिर रहेर पत्रकारिता गरिरहेका क्षमतावान् पत्रकारलाई सङ्घमा आबद्ध गर्नुपर्ने लगायतका विषयहरू उठाएका थिए ।

प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले पत्रकार महासङ्घ स्याङ्जाले सोह्र वर्षसम्म खासै देखिने कुनै काम गर्न नसक्नु लज्जाको विषय भएको भन्दै अबका दिनमा विगतको प्रवृत्ति दोहोरिन नहुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले पत्रकारहरूका थुप्रै समस्या रहेका भन्दै आफूले पत्रकारिता सुरू गर्दाको समय कठिन भएको तर अहिले प्रविधिले सहज भएको बताउनुभयो ।

पत्रकार महासङ्घको केन्द्रीय अधिवेशनका लागि जिल्लाबाट नयाँ सदस्यता आवेदन खुलाइएकोमा स्याङ्जा जिल्लाबाट विधान अनुसार मापदण्ड पुगेका १६ जना क्रियाशील पत्रकारहरूको नाम सिफारिस भएको महासङ्घ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताउनुभयो ।

स्वागत भवानी अधिकारीले गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले र कार्यक्रमको सञ्चालन पत्रकार महासङ्घ स्याङ्जाकी सचिव युवा पत्रकार प्रतीक्षा काफ्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार