स्याङ्जाको गाँउपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

२०७९ मंसिर २१, बुधबार १५:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,२१ मंसिर । वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुको टोलीले स्याङ्जाको फेदिखोला गाँउपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । गाँउपालिका अध्यक्ष घनश्याम सुबेदीले पालिकामा एकल निर्णय गरेर अनियमितता गरेको आरोप लगाएर वडा अध्यक्ष सहित कार्यकालिका सदस्यहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् । ११ बुँदे माग अध्यक्षको ढोकामा टाँसेर तालाबन्दी गरिएको गाँउपालिका १ का वडा अध्यक्ष अमृत क्षेत्रीले बताउनुभयो । पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सम्वोधन गरिएको मागपत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम महिनाको एकपटक कार्यपालिकाको बैठक राख्ने प्रावधानलाई कुल्चेर एकल निर्णय गरिदै आएको आरोप लगाइएको छ ।

कर्मचारी सरुवामा वडा अध्यक्षहरु सगँ समन्वय नभएको, लेखा समिति गठन नगरी मनपरी खर्च गरिएको, गाँउपालिकाको काममा प्रयोग गर्नुपर्ने सवारी साधन नीजि काममा प्रयोग गरिएको, शिक्षा समितिलाई पुर्णता नदिई शिक्षक सरुवामा अनियमिता गरिएको लगायत आरोप मागपत्रमा लगाइएको छ । ११ बुँदे पेश गरिएको मागपत्रको सुनुवाई नभएसम्म तालाबन्दी यथावत रहने बताइएको छ । पालिका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले वडा अध्यक्ष र कार्यपालिका सदस्यको मानमर्दन गरिएको समेत आरोप उहाँहरुको छ ।

भदौ १ गतेपछि अध्यक्षले कार्यपालिकाको बैठक नै नबोलाएर एकल निर्णय गर्दै कार्यसञ्चालन गर्दै आएको बताइएको छ । पालिकाले गरेको गतिविधि मासिकरुपमा माग गर्दा सुचना दिन प्रमुख प्रशासकीय अधिकृतले आनकानी गरेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो । हामीले पटक—पटक बैठक आब्ह्रान गर्न अध्यक्षलाई अनुरोध ग¥यौ क्षेत्रीले भन्नुभयोे,‘अध्यक्षले बैठक नबोलाएर मनपरी गर्न थालेपछि ताला लगाउन बाध्य भयौं ।’ विकासका निम्ती हामी बाधक नभएको तर समन्वय हुनुपर्छ पर्छ भन्ने हाम्रो अनुरोध हो उहाँले भन्नुभयो ।

बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा फेदिखोलामा पालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ भने कार्यपालिका नेपाली काँग्रेसले जितेको छ । कार्यपालिकामा अध्यक्ष अल्पमतमा रहेकाले सुबेदीले एकल निर्णय गर्दै आएको आरोप लाग्दै आएको थियो । यता पालिका अध्यक्ष सुबेदीले कार्यकक्षमा तालाबन्दी लगाइएको बिषयमा आफुलाई थाहा नभएको बताउनुभयो । म कार्यक्रम छु उहाँले टेलिफोनमा भन्नुभयोे,‘जसले लगाएको उसैलाई सोध्नुहोस ।’ अत्यन्तै व्यवस्ता देखाएर उहाँले सबै जवाफ दिएनन् । दोस्रो पटक पुन पालिका अध्यक्षमा निर्वाचित भएका सुवेदी कार्यपालिका बैठकनै नबोलाएर एकल निर्णयबाट पालिका संचालन गर्न सकिन्छ भन्ने दम्भमा लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार