धनराजलाई बधाई दिंदै पद्माले भन्नुभयाे, सबै कुरा भुलेर सहकार्य गर्न प्रतिबद्ध छु

२०७९ मंसिर १८, आईतवार १६:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं ,१८ मंसिर। स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमाले नेता पद्मा अर्यालले बधाई दिनुभएको छ । यद्यपि कब्जा गरिएको मतबाट गुरुङ निर्वाचित भएको भन्दै अर्यालले उक्त मतलाई नस्वीकार्ने बताउनु भएको छ । उहाँले सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।

आइतबार बिहान सामाजिक सन्जालमा अर्यालले लेख्नुभएको छ, ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।

मंसिर ४ को निर्वाचनमा बुथ कब्जा भएको प्रमाण भएको, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको अर्यालको जिकीर छ । त्यही मुद्दा उठाउँदै अर्यालले पुनः मतदानको माग गर्नुभएको थियो । तर निर्वाचन आयोगले पुनः मतदानको माग अस्वीकार गर्दै मतगणना जारी राख्न निर्देशन दिएको थियो । शनिबार रातिको अन्तिम मत परिणाम अनुसार गुरुङ अर्यालभन्दा ५ हजार बढी मत अन्तरले निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुुसार निर्वाचित भएका धनराज गुरुङले ३१ हजार ४६६ र पद्मा अर्यालले २५ हजार ८३९ मत पाउनुभएको छ ।

पद्माले सामाजिक सन्जालमा धनराजलाई शालीन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रुपमा बुझे पनि निर्वाचनको दिनदेखि आफ्नो बुझाइ झुठो प्रमाणित भएको उल्लेख गर्नुभएको छ । ‘मैले तपाईंलाई शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणित गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन ।’

उहाँले अब सबै कुरा भुलेर जनताको सेवा गर्न र स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘सबै कुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अगाडि बढ्न प्रतिबद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन्, तिनलाई पूर्णता दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवश्यक छन् त्यसका लागि हरदम साथ दिन तयार छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय