उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

२०७९ फाल्गुन २७, शनिबार ०४:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। बिहान साढे ८ बजे बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरू हुन केही समय बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो अझै लगाउन सकेका छैनन्। उपराष्ट्रपतिको पदमा गठबन्धनबीच उम्मेदवार टुंगो नलाग्दै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई अघि सारेको छ। जसपाले गठबन्धनबीच यो विषय निर्णय भइसकेको भन्दै यादवलाई अघि सार्दा गठबन्धन दलकै जनमत पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबाटै ममता झालाई अघि सारेको छ ।

यसअघि गठबन्धनकै अर्को दल नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपति पदमा अघि सारेको थियो। हिजो ९शुक्रबार० बसेको उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले रञ्जितालाई उपराष्ट्रपति पदमा अघि सार्ने निर्णय गरेको थियो । यद्यपि उपराष्ट्रपति पदका लागि ४५ वर्ष पुग्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनी यसमा उमेरकै कारण योग्य छैनन्।

उपराष्ट्रपतिका लागि आजै शनिबार मनोनयन र आगामी चैत ३ मा निर्वाचन हुने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार