मन्त्री मोदी र आयोगका अध्यक्षहरुबीच भेटवार्ता, के-के भयो कुराकानी?

२०७९ फाल्गुन २६, शुक्रबार ०८:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग तीन आयोगका अध्यक्षले संयुक्त भेटवार्ता गरेका छन् । शुक्रबार मन्त्रालयमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा आयोगका अध्यक्षहरुले सरकारले ल्याउन लागेको संघीय निजामती ऐनको सन्दर्भमा चासो राखेका छन् । छलफलमा उनीहरुले निजामती ऐन ल्याउँदा समावेशी समानुपातिकताको विषयलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । ‘संघीय निजामती ऐन टेबुल गर्ने तयारीमा हुनुहुन्छ भन्ने सुनेर हामी आएका हौँ’ भेटका क्रममा मन्त्री मोदीसँग आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले भने, ‘ऐन ल्याउँदा समावेशी समानुपातिकको मुल मर्म र भावनालाई समेट्नुपर्छ भन्नेमा हाम्रो विशेष चासो छ ।’

भेटका क्रममा मन्त्री मोदीले संविधानले निर्देशित गरेको मर्म र भावनालाई समेटिएर ऐन ल्याउने बताए । ‘तपाईंहरुको चासो र चिन्ताप्रति मेरो सम्मान छ, यो ऐन ल्याउँदा सविधानले निर्देशित गरेको समावेशी समानुपातिकताको विषयलाई पूर्ण रुपमा ध्यान दिने विश्वास म दिलाउन चाहन्छु’ मन्त्री मोदीले भने ।

संघीय निजामती ऐनका सन्दर्भमा सुझाव लिनका लागि मन्त्री मोदीले शनिबार बिहान ११ बजे मन्त्रालयमा संवैधानिक आयोगका अध्यक्षहरुलाई पनि बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार