काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले कार्यतालिका सार्वजनिक गर्दै चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने समय शनिबारका लागि तोकेको छ ।
त्यस्तै सोही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिन मिल्ने कार्यतालिकामा उल्लेख छ । यस्तै २८ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने‚ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ भने चैत ३ गते मतदान गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।
मतदान पश्चात सबै मतपेटिक मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकेको समय र स्थानमा मतगणना कार्य सुरु गरिनेछ । मतगणना कार्य समाप्त भएपछि निर्वाचन घोषणा गरिने आयोगले जनाएको छ ।