काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत सङ मेयर बालेनको कार्यकक्षमा आएका हुन् ।
उनीहरूबीच आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । सङले काठमाडौंका सम्पदाहरूको निर्माण शैली चीनका सहरहरूमा प्रबर्द्धन गर्न चाहेको बताए । “काठमाडौंसँग चीनका सातवटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ,” सङले भने ।
मेयर बालेनले दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्ने बताए । “भेषभूषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिकस्तरमा प्रबर्द्धन गर्न सकिन्छ,” बालेनले भने । भेटवार्तामा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ स्टेसनलगायत सहरी व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
भेटमा व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरू सहभागी थिए ।