काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सोमबार काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुगी प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन् । यस्तै, प्रधानमन्त्री प्रचण्डले नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ । सोमबारै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पनि आलोकनगर पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
गएको शनिबार शंखमूलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर घाइते भएका उपाध्यायको उपाचारका क्रममा अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर आज श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ । आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।