काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि हुँदै छ । फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आजै राति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै निषेधको अवधिमा प्रचार प्रसार गर्न नपाइने भनेको छ ।
“निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ ।”
बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।