काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।शनिबार आयोजित एकीकृत समाजवादी निकट दलित मुक्ति संगठनको कार्यक्रममा सम्बोधन गर्दै उनले अरु पार्टी सरकारबाट हटेकाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको बताए।
‘एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। एक महिनाभित्र कुन मितिमा विश्वासको मत लिने, त्यो प्रधानमन्त्रीले तय गर्नुपर्छ। यो सरकारलाई हाम्रो समर्थन रहेको छ। र हाम्रो साथ रहनेछ’, उनले भने। अध्यक्ष नेपालले आफूहरु देशभरका कम्युनिस्टलाई मिलाउनका लागि आफ्नै मान्यतामा दृढताका साथ उभिने बताए। आफूहरु कुनै पार्टीमा गएर समाहित पनि नहुने उनको भनाइ छ। ‘समाहित हुनुपर्ने आवश्यकता पनि छैन। हाम्रो बेग्लै पहिचान र भूमिका छ’, उनले भने। गत पुस १० गते नयाँ सत्ता गठबन्धन बनाउँदाको सहमति तोडेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेससहितको गठबन्धन बनाएका थिए ।
त्यसपछि नेकपा एमाले र राप्रपाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएका थिए। समर्थन फिर्तापछिको एक महिनाभित्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।