आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थलः प्रधानमन्त्री प्रचण्ड

२०७९ फाल्गुन १९, शुक्रबार ०६:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए । “पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको छ । त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक छ,” उनले भने । उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे ।

उनले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यकता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । उनले सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताए ।उनले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण, संवर्द्धन गर्न जरुरी रहेको बताए । उनले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए ।

प्रधानमन्त्री दाहालले यो महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलार्य न्यूनीकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय