राष्ट्रपति हिजोको राजा होइन, जनताको बन्नुपर्छः सुवास नेम्वाङ

२०७९ फाल्गुन १९, शुक्रबार ०५:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । “म परीक्षण भइसकेको मान्छे हुँ । संविधान बनाउँदा ३१ राजनीतिक दलले विश्वास दिएर सर्वसम्मतिमा मलाई संविधानसभा अध्यक्ष बनाएका हुन् । मैले सबैलाई विश्वासमा लिएर काम गरेँ । मेरो अध्यक्षतामा संविधान बनेको हो,” उक्त भनाइ एमालेका तर्फबाट राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङको हो ।

नेपालको तेस्रो राष्ट्रपतिका लागि फागुन २५ गते हुने निर्वाचनमा आफूलाई मत माग्न व्यस्त नेम्वाङले बाह्रखरीसँगको कुराकानीमा पनि आफूलाई मत दिन सबैसँग अपील गरे । “नेपालको राष्ट्राध्यक्ष हुन एउटा विशेष कुलमा जेठो छोरो भएर जन्मिएको हुनुपर्ने प्रणालीलाई हामीले भत्कायौँ । जुनसुकै कुलमा छोरा वा छोरी राष्ट्रपति हुन पाउने प्रणाली हामीले बनाएका हौँ,” बाह्रखरीसँगको कुराकानीमा उनले भने, “त्यसैले राष्ट्रपति भनेको हिजोको राजाजस्तो होइन । राष्ट्रपति जनताको राष्ट्रपति बन्नसक्नुपर्छ । मैले जितेँ भने जनताको राष्ट्रपति बन्ने प्रयास गर्नेछु ।”

नेम्वाङले नेपाली जनताको विवेकपूर्ण मतबाट चुनिएर आएका जनप्रतिनिधिप्रति विश्वास व्यक्त गर्दै भने, “मलाई जनताको विवेकपूर्ण मतबाट चुनिएर आएका हाम्रा माननीयजीहरूको विवेकमा पूर्ण विश्वास छ, म राष्ट्रपति निर्वाचन जित्ने छु ।” जनताको राष्ट्रपति कस्तो हुनुपर्छ?भन्ने जिज्ञासाको जवाफमा नेम्वाङले भने, “जनताको राष्ट्रपति मिडिया–मैत्री हुन्छ । त्यो मैले व्यवहारबाट देखाइसकेको छु ।”

“दोस्रो, जनताको राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्किँदा जनताले असहज महसुस गर्ने छैनन् । सडक जाम हुने छैन । आकाशमा उड्दा आकाश जाम हुने छैन । अर्थात्, जनताको राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा जनताले सहजता महसुस गर्ने छन्,” उनले भने । आफ्नो अध्यक्षतामा निर्माण भएको संविधानको संरक्षको जिम्मेवारी आफूले सबैभन्दा राम्रोसँग निभाउनसक्ने दाबी पनि गरे ।

उनले भने, “मेरो अध्यक्षतामा निर्माण भएको संविधानको संरक्षक र पालकको रूपमा म राष्ट्रपतिमा जाँदा सबैभन्दा राम्रोसँग मैले त्यो जिम्मेवारी बहन गर्नसक्नु भन्ने विश्वास छ । यो मेरो खाली प्रतिबद्धता मात्र होइन, म सबैलाई विश्वासमा लिएर काम गर्नसक्छु भन्ने प्रमाणित गरिसकेको व्यक्ति हुँ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार