काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् । बिहीवार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताए ।
उनले सबै सांसदहरु आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको बताए । वरिष्ठ नेता पौडेलले सांसदहरुले आफुले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका उल्लेख गरे । उनले भने– ‘सबैसँग सम्पर्क र भेटघाट भइरहेको छ । मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर उहाँहरुलाई विश्वास दिलाउने काम गरिराखेको छु । सबै जना अत्यन्त सकारात्मक हुनुहुन्छ । तपाई पुरानो मान्छे भनेर माया गर्छन् । सबै साथीहरुले माया गर्नुहुन्छ । तपाईमाथि भरोसा छ, तपाईले अवश्यपनि संविधानको संरक्षण गर्नुहोला भन्छन् ।’
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा जस्तो संविधान मिच्ने काम राष्ट्रपतिबाट नहोस् भनि सचेत गराएको बताए । अध्यक्ष दाहालले आगामी दिनमा हरेक मुद्दाहरुमा राष्ट्रिय एकता गरेर जानुपर्ने कुरा बताएको उनले उल्लेख गरे । त्यसैगरी अभिमुखिकरण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता, संविधान संशोधन र राजनीतिक बन्दीहरुको रिहाइको सम्बन्धमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट प्रतिवद्धता आएकाले समर्थन गरिएको कुरा राखेको सो पार्टीका सांसद शरदसिंह भण्डारीले जानकारी दिए ।
सांसद भण्डारीले आफूहरु पुष १० गतेभन्दा अगाडीको गठबन्धनको घटक भएको भन्दै आफुहरु सरकारमा स्वतः सहभागि हुने बताए । उनले आफूहरु सरकारमा सहभागि हुने भएपनि मन्त्रालयको सम्बन्धमा भने छलफल भइ नसकेको स्पष्ट पारे ।