जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछुः उर्मिला अर्याल

२०७९ फाल्गुन १८, बिहीबार १०:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले देशभर प्रदेशदेखि पालिकासम्म जोडिएका महिला उपाध्यक्षको ‘नेटवर्क’ बनाएर अघि बढ्ने योजना रहेको बर्ताकी छिन् ।

उनले महिलाको क्षमता अभिवृद्धिका लागि नेटवर्क बनाउन छलफल भइरहेको जानकारी दिइन् । उपाध्यक्ष अर्यालले गाउँपालिकाका अध्यक्ष, गाउँपालिका महासङ्घलगायत संस्थासँग समन्वय गरेर महिला नेतृत्व अभिमुखीकरण र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन् ।

उपाध्यक्ष अर्यालले पदीय सक्रियता बढाएर जिम्मेवारीलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्ने छु, उपाध्यक्षको जिम्मेवारीभन्दा माथि जाने कुरा हुँदैँन । पदीय मर्यादामा बसेर आफ्नो भूमिकाको गरिमा बढाउने अवस्था छ, महिला सांसदको क्षमता अभिवृद्धि तथा सदनमा प्रस्तुत भएका विधेयकबारे छलफल र सुझाव लिएर सहज वातावरण बनाउन सकिन्छ ।”

उनले उपाध्यक्ष पद उपेक्षित पद नरहेको बताउदैँ यही जिम्मेवारी र भूमिकालाई नेतृत्व विकास र निर्णायक क्षमता अभिवृद्धि गर्न समन्वय र सहकार्यका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार