काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले अब सरकारमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय चाहिने माग गरेको छ ।
सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले यस्तो सहमति भइसकेको जिकिर गरे । तर, उनले भनेजस्तो सहमतिको पुष्टि हुन सकेको छैन । नयाँ आठदलीय गठबन्धनमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय आफूहरूले पाउने सहमति भइसकेको उनको भनाइ छ ।
बिहीबार काठमाडौंमा आठदलीय गठबन्धनका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका उनले यस्तो बताएका हुन् ।