काठमाडौँ । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । बिहिवार एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङ राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै अध्यक्ष नेपालसँग भेट गर्न पुग्नु भएको थियो ।
उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्यालले पनि नेपालसँग भेट गरेका थिए ।राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बनेका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिको लागि सहयोग माग्न तीब्र भेटघाटमा छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताए।
उनले पार्टी अध्यक्ष नेपालले मत माग्न आएकोमा एमाले नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै बिदा गरेको बताए । उनले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रश्तावक रहेको र तत्काल यसै गर्छौं भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताए । त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरुले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गरे।
उनले दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताए। उपमहासचिव गुरुङले दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको पनि बताए । नेकपा (एकीकृत समाजवादी)ले भने बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांंग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।