काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीबाट उमेदवार बनेका नेता रामचन्द्र पौडेललाई विजयी गराउन सांसद अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
कांग्रेससहित गठबन्धनमा रहेका आठ दलले कार्यक्रम आयोजना गरेका हुन् । उक्त कार्यक्रम अहिले दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा हुँदै छ । “कांग्रेस सभापति शेरबहादुर देउवाज्यूले अहिले दिउँसो १ बजे रोयल ब्यांक्वेट, तीनकुनेमा आठ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्ने कार्यक्रम रहेको छ,” देउवाको सचिवालयले भन्यो । राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदै छ ।
निर्वाचनका लागि कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । सोही गठबन्धनका कारण वर्तमान सत्तासमीकरण समेत बदलिएको छ ।