एमाले प्रतिपक्ष हो, कांग्रेस के हो खुलेको छैन: ठाकुर गैरे

२०७९ फाल्गुन १७, बुधबार ०९:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष आफ्नो पार्टी भएको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग उनले नेपाली कांग्रेसको हैसियत नखुलेको बताए ।

“कांग्रेस प्रतिपक्ष हो कि सत्तापक्ष हो, म चिन्दिनँ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ,” उनले भने, “हामी हिजो सत्तामा रहँदा ऊ सत्तापक्षमा बसेन, प्रतिपक्षको हैसियतमा पनि बसेन । कांग्रेस के हो खुलेको छैन, खुल्दै जाला ।” गैरेले सोमबारको पार्टी सचिवालय बैठकको निर्णयपछि एमाले प्रतिपक्ष हुने तर्क गरे । एमालेलाई प्रतिपक्षका रूपमा व्यवस्था मिलाउन संसद् सचिवालयलाई आग्रह गरिएको उनले जानकारी दिए ।

“एमाले सरकारबाट बाहिरिने र विश्वसको मत फिर्ता लिने निर्णय गरेपछि स्वाभाविक रूपले प्रतिपक्षमा छौँ । हाम्रो पार्टीको तर्फबाट प्रतिपक्षको बेन्च मिलाउन संसद् सचिवालयलाई भनिएको छ,” उनले भने । आउँदो चैत ५ गतेको संसद् बैठकमा आफूहरू प्रतिपक्षको बेन्चमा बस्ने उनले बताए । गैरेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति बने भूमिका फेरिन सक्ने समेत बताए ।

वर्तमान सरकार बहुमतको अवस्थामा नभएको र अल्पमतको भएको उनको जिकिर छ । अब एमालेले सडक र सदनबाट जनताको आवाज उठाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार