राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने तयारीमा प्रचण्ड

२०७९ फाल्गुन १६, मंगलवार ११:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यसअघि सरकारलाई समर्थन गरेका केहि दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताइन् । उनले राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा त्यसपछि मात्रै विश्वासको मत लिनका लागि तयारी भएको बताइन् । प्रवक्ता शर्माले राष्ट्रपति चुनावपछि मात्रै मन्त्रीमण्डल पुनर्गठन हुने जानकारी दिइन् ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले जनयुद्ध र जनआन्दोलनका क्रममा मृत्यु भइ सहिद घोषणा भइ राजपत्रमा नामावली प्रकाशित हुन बाँकी रहेका सहिदहरुको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिइन् । बैठकले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी समम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै कर्णाली कोरिडोर ४ सय केभि प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ती गर्न क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार