माधव नेपाल भन्छन्-सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्छ

२०७९ माघ २१, शनिबार ०८:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्ने दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दाबी गर्दै उनले राष्ट्रपति निर्वाचनअघि नै गठबन्धन टुट्ने अवस्था रहेको बताए । अध्यक्ष नेपालले भने,‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं(खटपट सुरु भइसकेको छ ।’

ललितपुरको बालकुमारीस्थित एक बैंक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने भनी प्रश्नसमेत गरे । संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे ।

उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको बताए । अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन समेत पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार